फुटबल स्टार मेसीका बुबा जर्ज मेसीको निधन



काठमाडौँ, साउन २३ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।

बिरामी भएपछि अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचाररत जर्जको निधन भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन्।

जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ। मेसीको प्रारम्भिक खेल जीवनदेखि नै उनले छोरालाई निरन्तर साथ दिँदै आएका थिए। मेसी विश्व फुटबलका सफल खेलाडीमध्ये एक बन्दै जाँदा जर्ज उनको करिअरका महत्वपूर्ण सहयोगीका रूपमा रहँदै आएका थिए।

मेसीका तर्फबाट विभिन्न क्लब तथा व्यावसायिक कम्पनीसँग सम्झौता र वार्तामा समेत जर्जले भूमिका निर्वाह गरेका थिए। छोराको खेल करिअरसँगै व्यावसायिक गतिविधि व्यवस्थापनमा पनि उनको महत्वपूर्ण योगदान रहेको बताइन्छ।

पछिल्ला केही वर्षयता जर्जको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। छोराको खेल जीवनदेखि व्यावसायिक यात्रासम्म निरन्तर साथ दिएका जर्जको निधनलाई मेसी परिवारका लागि ठूलो व्यक्तिगत क्षतिका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्