‘देश एक्लैले बन्दैन, सबैको साथ चाहिन्छ’ : रास्वपा महामन्त्री आचार्य
भैरहवा, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माणका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताउनुभएको छ।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देश कुनै एक व्यक्ति वा सीमित व्यक्तिको प्रयासले मात्र बन्न नसक्ने बताउँदै त्यसको नेतृत्व रास्वपाले गरिरहेको दाबी गर्नुभयो।
उहाँले पार्टी जिम्मेवारीमा आएको अझै छ महिना पनि पूरा नभएको उल्लेख गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपाले जनताको साथ खोजेको बताउनुभयो। स्थानीय तथा जिल्ला तहबाटै पार्टीको कामलाई अघि बढाउन नेता, कार्यकर्ता र शुभेच्छुकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
महामन्त्री आचार्यले पार्टीसँग आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकलाई पुराना दल तथा तिनमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गर्नुभयो। रास्वपामा आबद्ध भएका कतिपय व्यक्ति यसअघि अन्य दलमा रहेको स्मरण गराउँदै उहाँले उनीहरूको मन दुख्ने गरी आलोचना नगर्न पनि निर्देशन दिनुभयो।
पार्टीको नीति, सिद्धान्त तथा सरकारका अभियानलाई जनस्तरसम्म पुर्याउन उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। आचार्यले आफू सांसदसमेत रहेकाले विभिन्न जिम्मेवारीका कारण कहिलेकाहीँ समयमा फोन उठाउन नसक्ने अवस्था आउने भन्दै त्यसलाई बाध्यताका रूपमा बुझिदिन आग्रह गर्नुभयो।

