साउनको अन्तिम सोमबारको तयारी : पशुपति क्षेत्रमा व्यापक सफाइ
काठमाडौँ, साउन २४ । साउनको चौथो सोमबारको तयारीस्वरूप पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा व्यापक सफाइ गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले साउनका सोमबारलाई लक्षित गर्दै पाँच साताअघिदेखि प्रत्येक शनिबार सफाइ अभियान सञ्चालन गर्दै आएको छ। अभियानको पाँचौँ सातामा हिजो शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोषले जनाएको छ।
यस क्रममा भक्तजन दर्शनका लागि लाम लाग्ने चारै ढोकाअघिको क्षेत्र, मूल प्रवेश मार्ग, भुवनेश्वरी मन्दिरअघिको क्षेत्र, इँटापाखा, जयवागेश्वरी, सुन्धारा र भण्डारखाललगायत स्थानमा सफाइ गरिएको छ।
साउन २५ गते पर्ने सोमबार भक्तजनको ठूलो भीड हुने अपेक्षा गरिएको भन्दै पशुपति क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिने भएको छ। सोही दिन बोलबम यात्रासमेत हुने भएकाले बोलबम यात्रीलाई वासुकी क्षेत्रतर्फबाट प्रवेश गराई पशुपतिनाथ मन्दिरको उत्तर ढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
सफाइ अभियानमा तीनवटै सुरक्षा निकायका अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ, सञ्चालक परिषद्का सदस्य, कर्मचारी, स्थानीय सङ्घसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ राख्दै सरसफाइप्रति जनचेतना बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।
यस वर्ष सौरमासअनुसार साउनमा चारवटा सोमबार परेका छन्। साउन ४, ११ र १८ गतेका सोमबार सम्पन्न भइसकेका छन् भने साउन २५ गतेको सोमबारका लागि तयारी भइरहेको छ।चन्द्रमासअनुसार भने साउन १८ गते पहिलो सोमबार परेको थियो।चन्द्रमासअनुसार साउन २५ गते दोस्रो सोमबार भएकाले त्यसपछि पनि दुई सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने अपेक्षा गरिएको छ।
साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार शिवको बार मानिने भएकाले यस अवधिमा पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ। शनिबार सार्वजनिक बिदाका कारण पनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो।

