किर्ते तथा ठगीको आरोपमा वडाध्यक्ष पक्राउ



नवलपरासी, साउन २४ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ पर्नुभएको छ।किर्ते तथा ठगी गरेको आरोपमा परेको जाहेरीका आधारमा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि यादवलाई प्रहरीले पक्राउ गरेको हो। उहाँलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।

जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अल्पकालीन अन्तरिम आदेश माग गर्नुभएको थियो। तर अदालतले उक्त आदेश दिन अस्वीकार गर्दै नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो।

अदालतको आदेशपछि जिल्ला छाड्ने तयारीमा रहेको अवस्थामा पूर्वी र पश्चिम नवलपरासीको सीमाक्षेत्रबाट यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

जग्गासम्बन्धी विषयमा किर्ते तथा ठगी गरेको आरोप लगाउँदै मनोजकुमार पालले यादवविरुद्ध जाहेरी दिनुभएको थियो। उक्त वडामा जग्गासम्बन्धी विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको बताइएको छ। प्रहरीका अनुसार पक्राउ परेका यादवलाई भोलि सोमबार अदालतमा पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्