नागरिकबाट प्रहरीलाई निःशुल्क १०७ रोपनी जग्गा



काठमाडौँ, साउन २४ । देशभर नयाँ प्रहरी युनिट स्थापना गर्न स्थानीय समुदायले सक्रियता देखाएका छन्। विभिन्न स्थानका नागरिकले प्रहरी कार्यालय निर्माणका लागि १०७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयमा देशभर ९७० नयाँ प्रहरी युनिट स्थापनाको माग परेको छ। तर सबै युनिट सञ्चालनमा ल्याउन थप १७ हजार १०० प्रहरी जनशक्ति आवश्यक पर्ने भएकाले तत्काल माग पूरा गर्न चुनौती रहेको प्रहरीको भनाइ छ।

हाल नेपाल प्रहरीको स्वीकृत दरबन्दी ७९ हजार ५३१ रहे पनि चार हजार ८३७ पद रिक्त छन्। देशभर दुई हजार ६६० प्रहरी युनिट सञ्चालनमा रहेकामा ३६३ युनिट भाडाका भवनमा र ४१८ युनिट अन्य सरकारी कार्यालय तथा संस्थाका भवनमा सञ्चालन भइरहेका छन्।

प्रहरीका अनुसार पछिल्लो समय साइबर अपराध, लागुऔषध कारोबार, बैङ्किङ कसुर र चोरीका घटना बढिरहेका छन्। यस आर्थिक वर्षमा ६० हजार १६ मुद्दा दर्ता भएका छन् भने १४ हजार ९११ घरेलु हिंसासम्बन्धी उजुरी परेका छन्।

प्रतिक्रिया दिनुहोस्