सरकारी उद्योगमा सुधारको संकेत, औषधी लिमिटेड तीन करोड नाफामा



काठमाडौँ, साउन २४ । सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका केही सरकारी उद्योगमा सुधारको संकेत देखिन थालेको छ। नेपाल औषधी लिमिटेडले गत आर्थिक वर्ष तीन करोड रुपियाँ नाफा कमाएको छ भने उत्पादन विस्तार गर्दै २५ प्रकारका औषधी उत्पादन गर्ने लक्ष्य राखेको छ।

दुग्ध विकास संस्थानको कारोबार पनि ३५ प्रतिशतले बढेको छ।दैनिक दूध बिक्रीबाट हुने आम्दानी ६० लाखबाट बढेर ९० लाख रुपियाँ पुगेको संस्थानले जनाएको छ। किसानको बक्यौता भुक्तानी अवधि घटाउनुका साथै उत्पादनका बिक्री केन्द्र विस्तार गरिएको छ।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म छ अर्ब २७ करोड ६३ लाख रुपियाँ आम्दानी गरेको छ। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपियाँ बराबरका आयुर्वेदिक औषधी उत्पादन तथा बजारीकरण गरेको छ।

सरकारले सञ्चालन गर्ने निर्णय गरेका सात सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनसमेत सम्पन्न भएको छ।मूल्याङ्कनका आधारमा ती उद्योग सरकार आफैँले सञ्चालन गर्ने वा निजी क्षेत्रलाई दिने विषयमा निर्णय गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्