जन्मोत्सवमा देवीघाट वृद्धाश्रमलाई सहयोग, ३५ ज्येष्ठ नागरिकलाई भोजन



नुवाकोट, साउन २४ । नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई विभिन्न दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त हुने क्रम बढेको छ ।

‘खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ?, आफू मेटाइ अरूलाई दिनु जहाँ छ’ भन्ने मूल नाराका साथ सञ्चालित प्रतिष्ठानमा दाताहरूले जन्मोत्सव तथा विभिन्न अवसरमा पुगेर सहयोग गर्दै आएका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका मानबहादुर घले र माइवी घलेकी छोरी स्मृति घलेको २७औँ जन्मोत्सवको अवसरमा शनिबार प्रतिष्ठानमै पुगेर १६ हजार रुपैयाँ सहयोग गरिएको छ ।उक्त रकमबाट आश्रममा आश्रित ३५ जना ज्येष्ठ नागरिकलाई भोजनको व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।

त्यस्तै, विदुर नगरपालिका–५ पिपलटारका रामकृष्ण पुडासैनीले आफ्नो ४७औँ जन्मोत्सवको अवसरमा प्रतिष्ठानलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उक्त रकमबाट आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि मिष्ठान्न भोजनको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिक मानव सेवा आश्रम सञ्चालन कार्यसमितिका अध्यक्ष विष्णुप्रसाद नेपालसहित कार्यसमिति सदस्य, सल्लाहकार समिति तथा आजीवन सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्