वर्षाले नुवाकोटमा बढायो जोखिम: पहिरोले घर थर्कायो, पुलमा भ्वाङ पर्यो
नुवाकोट, साउन २४ । रातभर परेको अविरल वर्षाले नुवाकोटको पूर्वी भेगमा जनजीवन प्रभावित बनाएको छ। पञ्चकन्या गाउँपालिका–५ भद्रुटारको बैदेटोलमा घरमाथिबाट आएको पहिरोले तीन घरमा क्षति पुर्याएपछि स्थानीयवासी रातारात सुरक्षित स्थानतर्फ सर्न बाध्य भए। उता, नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छोटो सडकमार्गको ढिकुरे पुलमा समेत भ्वाङ परेपछि यातायात प्रभावित भएको छ। त्यस्तै मध्यपहाडी मार्ग अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने बोहोरे खोलाको पक्की पुलको संरक्षणका लागि लगाइएको तारजाली समेत बगाएको छ ।
भारी वर्षासँगै आएको पहिरोले बैदेटोलका सुरेश थपलिया, उमेश थपलिया र श्याम थपलियाको घरमा क्षति पुर्याएको हो। घरमा पहिरो खसेर जोखिम बढेपछि खबर पाउनासाथ पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’को नेतृत्वमा इलाका प्रहरी कार्यालय पञ्चकन्या, गाउँ प्रहरी, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासी राति नै घटनास्थल पुगे।
जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सारेर घरभित्र रहेका महत्वपूर्ण सामग्रीसमेत सुरक्षित रूपमा निकालिएको अध्यक्ष तामाङले बताउनुभयो। “विपद् र दुःखको समयमा जनताको साथमा रहेर उद्धारमा आफैँ खटिएको” उहाँको भनाइ छ।पहिरोले घरमा क्षति पुर्याएपछि पीडित परिवारको तत्कालीन बसोबासका लागि गाउँपालिकाको टोलीले अस्थायी टहरा निर्माण गरेको छ। स्थानीयवासीको श्रमदानसहित शनिबार साँझसम्म अस्थायी बसोबासको व्यवस्थापन गरिएको हो।
घटनास्थलको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन तथा थप जोखिमको अवस्थासमेत मूल्याङ्कन गरिएको छ।गाउँपालिकाले पीडित परिवारका लागि राहत, अस्थायी बसोबास र पुनःस्थापनाको व्यवस्था मिलाउने तथा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्ने जनाएको छ।
पुलमा भ्वाङ, ठूला सवारी रोकिए
अविरल वर्षाकै कारण नुवाकोटबाट काठमाडौं जाने छोटो सडकमार्गमा रहेको ढिकुरे पुलमा समेत क्षति पुगेको छ। त्रिशूली–गंगटे–ढिकुरे–छहरे–टोखा सडकखण्डअन्तर्गत लिखु गाउँपालिका–१ र ३ जोड्ने तादी नदीमाथिको पक्की पुलमा भ्वाङ परेपछि ठूला सवारीसाधनको आवतजावत रोकिएको छ।
पुलको लिखु गाउँपालिका–१ ढिकुरेतर्फको भागमा क्षति पुगेपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। हाल साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ।
पुलमा क्षति पुगेपछि छहरे–टोखा सडक हुँदै काठमाडौं तथा नुवाकोटतर्फ यात्रा गर्ने यात्रु प्रभावित भएका छन्। ठूला सवारी सञ्चालनमा रोक लाग्दा सामान ढुवानी तथा दैनिक आवतजावतमा समेत असर परेको छ।
क्षतिग्रस्त पुलको मर्मत कार्य भइरहेको जनाइएको छ। मर्मत पूरा भएपछि मात्रै ठूला सवारीसाधनको आवतजावत सहज हुने बताइएको छ।
वर्षाका कारण एकातिर बस्तीमा पहिरोको जोखिम बढेको छ भने अर्कोतर्फ सडक तथा पुलमा क्षति पुगेपछि नुवाकोटको यातायात प्रणालीमै असर परेको छ। स्थानीयवासीले विपद्को जोखिम अझै कायम रहेकाले राहत, उद्धार र सुरक्षित बसोबासका लागि सम्बन्धित निकायलाई थप सक्रिय हुन आग्रह गरेका छन्।

