दुर्लभ ‘वन सुन्तला’ भेटियो



हेटौँडा, साउन २४ । लोपोन्मुख रैथाने प्रजातिको दुर्लभ ‘वन सुन्तला’ मकवानपुरको मनहरीमा फेला परेको छ। मनहरी गाउँपालिका–७ बिजौनास्थित पशुपति सामुदायिक वनमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको टोलीले यसको प्राकृतिक वासस्थान पहिचान गरेको हो।

अनुसन्धानका क्रममा वन क्षेत्रमा करिब ५० वर्ष पुराना दुई ठूला र तीन वटा साना ‘वन सुन्तला’का बोट भेटिएका छन्। फल सुन्तलाजस्तै गोलाकार हुने र पाकेपछि पहेँलो रङको हुने यो प्रजाति नेपालमा सिराहा, झापा र मकवानपुरमा मात्रै भेटिएको केन्द्रले जनाएको छ।

दुर्लभ प्रजाति भएकाले भेटिएका बोटलाई घेराबार गरी संरक्षण थालिएको छ। स्थानीय उपभोक्तालाई हाँगा नकाट्न र बिउ संरक्षण गर्न आग्रह गर्दै संरक्षणसम्बन्धी जानकारीसमेत दिइएको छ।वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत हेमराज पौडेलका अनुसार अनियन्त्रित रूपमा घाँस, दाउरा तथा काठका लागि रुख काटिँदा ‘वन सुन्तला’को सङ्ख्या घट्दै गएको हो।

यसको बिउ व्यवस्थापन तथा थप बिरुवा उत्पादनको सम्भावनाबारे अध्ययन गरिने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्