नागपूजासँगै पञ्चकन्याको खड्कुले झरनामा सांस्कृतिक उत्सवको तयारी



नुवाकोट, साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ४ को संगमस्थलमा रहेको गौमती खोला–नागदह–खड्कुले झरना–सिद्धेश्वर महादेव क्षेत्रमा यस वर्ष नागपूजासँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय संस्कृतिको संगमका रूपमा परिचित उक्त क्षेत्रमा भदौ १ गते नागपूजा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको खड्कुले झरना संरक्षण समितिले जनाएको छ।

नागपूजाको अवसरमा आयोजना हुने कार्यक्रममा स्थानीय कला, संस्कृति र मौलिक परम्पराको प्रस्तुतिसँगै भक्तजन तथा आगन्तुकलाई धार्मिक तथा प्राकृतिक पर्यटनको अनुभूति दिलाउने उद्देश्य राखिएको छ। गौमती खोलाको किनार, नागदह र खड्कुले झरनाको प्राकृतिक वातावरणले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै समुदायलाई एकताबद्ध गर्ने अवसरका रूपमा समेत कार्यक्रमलाई लिइएको छ। समितिले गाउँपालिकाका सबै सरकारी निकाय, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, बुद्धिजीवी, कलाकार तथा सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।

समितिका अध्यक्ष रामकृष्ण थापा र सचिव गणेश खनालले नागपूजा तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा साथ दिन सबैमा आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्