नुवाकोट पञ्चकन्याको ‘घ्याङस्वारा चिया’ प्रतिकिलो ६ हजार रुपैयाँ
नुवाकोट,साउन २४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको ‘घ्याङस्वारा अर्गानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरेको छ।
पञ्चकन्या–४ घ्याङस्वारा पार्कस्थित वर्षौँदेखि बाँझो रहेको सार्वजनिक जग्गालाई कृषियोग्य बनाएर लगाइएको चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट नतिजा आएपछि गाउँपालिकाले तयारी चियाको मूल्य निर्धारण गरेको हो।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत तयार गरिएको ‘घ्याङस्वारा अर्गानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निर्धारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम मूल्य तोकिएको हो।
गाउँपालिकाले चिया ५०० ग्रामको ३ हजार, २५० ग्रामको १ हजार ५००, १०० ग्रामको ६ सय, ५० ग्रामको ३ सय र २५ ग्रामको १ सय ५० रुपैयाँमा बिक्री गर्ने जनाएको छ।
तीन वर्षअघि रोपिएका चियाका बिरुवामध्ये करिब १२ हजार ५० बोटबाट उत्पादन सुरु भएको गाउँपालिकाले जनाएको छ।घ्याङस्वाराको ३३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको श्रमदानबाट ८३ हजार बिरुवा रोपिएका थिए।
समुद्री सतहबाट १ हजार ८ सयदेखि २ हजार २ सय मिटर उचाइमा रहेको घ्याङस्वारामा उत्पादित चियालाई गाउँपालिकाले गत वैशाखमा ‘घ्याङस्वारा अग्र्यानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो। अब मूल्य निर्धारण, ट्रेडमार्क तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै बजारमा लैजाने तयारी गरिएको छ।
गाउँपालिकाका उपाध्यक्ष विमला केसीका अनुसार स्थानीय किसानलाई अनुदानमा वितरण गर्न थप ८४ हजार चियाका बिरुवा तयार गरिएको छ। चिया उत्पादनलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता र पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको लक्ष्य छ।

