सुनकोशीमा बेपत्ता तिलकुमारीको शव फेला, श्रीमान् अझै बेपत्ता



काभ्रेपलाञ्चोक, साउन २४ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर नजिकै सुनकोशी नदीमा बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ।

बुधबार साँझ श्रीमान्सँगै नदीमा बेपत्ता भएकी पराजुलीको शव ओखलढुंगाको सीमाक्षेत्रस्थित सुनकोशी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचानका लागि परिवारलाई तस्बिर पठाइएको र परिवारले पराजुलीको काटिएको कपाल तथा पिसाब थैलीका आधारमा पहिचान गरेको प्रहरीले जनाएको छ।

तिलकुमारीसँगै नदीमा बेपत्ता भएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ। उनको खोजीमा प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासी परिचालित छन्।

प्रारम्भिक अनुसन्धानअनुसार तिलकुमारी लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। प्रत्यक्षदर्शीको भनाइ र घटनास्थलको निगरानी क्यामेराको दृश्यका आधारमा केदारनाथले तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटसम्म ल्याई नदीमा हाम फालेको देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने बेपत्ता केदारनाथको खोजीलाई तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्