असोज १६ देखि १९ सम्म हुने कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : गगन थापा



काठमाडौँ, साउन २४। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नहुने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय भएको कार्यतालिका नै अन्तिम भएको बताए। पार्टीको विधान र प्रचलित कानुनअनुसार तय भएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।

थापाले पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन आवश्यक सहजीकरण गर्दा केही समय लागेको बताए। तर त्यसका कारण महाधिवेशनको निर्धारित मिति प्रभावित नहुने उनले स्पष्ट पारे।

पार्टीको वैधानिकता र विशेष महाधिवेशनका विषयमा सर्वोच्च अदालतबाट आएको पुनरवलोकन आदेशलाई आफूहरूले सामान्य रूपमा लिएको बताउँदै थापाले आवश्यक परे पुनः न्यायालयको सामना गर्ने बताए।

उनले यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले पार्टीको विधानअनुसार सम्पन्न विशेष महाधिवेशनलाई वैधानिकता दिइसकेको दाबी गर्दै न्यायालयप्रति विश्वास कायम राख्नुपर्ने बताए।

सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउनुपर्ने विषयमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्