पोखरामा सोमबार चार कम्पनीका करिब ४ हजार ग्यास सिलिण्डर मात्रै वितरण हुने



पोखरा, साउन २४ । पोखरा क्षेत्रमा सोमबार चार कम्पनीका करिब ४ हजार एलपी ग्यास सिलिण्डर मात्रै वितरण हुने भएको छ।भारतबाट आइतबारसम्म नयाँ ग्यास बोकेको बुलेट नेपाल भित्रिन नसकेपछि ग्यासको आपूर्ति घट्ने भएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सोमबार गृहलक्ष्मीका करिब २ हजार, शक्तिका १ हजार १ सय, साई बाबाका ६ सय र भानु ग्यासका ३ सय सिलिण्डर बजारमा बिक्रीका लागि पठाइनेछ।

आइतबारको तुलनामा सोमबार ग्यासको आपूर्ति करिब आधा घट्ने भएकाले प्रशासनले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। उपलब्ध सिलिण्डर मुख्य डिपोमा मात्र नभई अधिकृत खुद्रा तथा किराना पसलबाट समेत बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

ग्यास सबै उपभोक्तासम्म समान रूपमा पु¥याउने र डिपोमा हुने भीड तथा लामो लाइन घटाउने उद्देश्यले खुद्रा पसलमार्फत वितरणलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।आइतबार पोखरा क्षेत्रमा ८ हजारभन्दा बढी सिलिण्डर बिक्री भए पनि मागको तुलनामा आपूर्ति कम भएपछि केही दिनयता ग्यास अभाव देखिएको छ।

व्यवसायीका अनुसार उपभोक्ताले नियमित आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमा मौज्दात राख्ने प्रवृत्तिले समेत अभाव बढाएको छ। गृहलक्ष्मी ग्यासका सञ्चालक धर्मराज बर्तौलाले आइतबार साँझसम्म भारतबाट नयाँ ग्यास बुलेट नेपाल भित्रिन नसकेको जानकारी दिनुभयो। भारतबाट थप ग्यास कहिले र कति परिमाणमा आउने भन्ने अझै स्पष्ट नभएको उहाँले बताउनुभयो।

प्रशासनले आपूर्ति नियमित नभएसम्म उपलब्ध ग्यासलाई व्यवस्थित रूपमा वितरण गर्न व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई आत्तिएर आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्