पाँच वर्षमा पनि बनेन गुल्मी अस्पताल, ठेक्का तोड्न मन्त्रीको निर्देशन
गुल्मी,साउन २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माणाधीन गुल्मी अस्पतालको स्थलगत अनुगमन गर्दै लामो समयदेखि काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिनुभएको छ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको अस्पताल पाँच वर्षसम्म पनि पूरा नभएपछि मन्त्री लम्सालले तत्काल ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा उहाँले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीप्रति असन्तुष्टि जनाउनुभयो।
गुल्मी अस्पताल निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्द–बानियाँ जेभीसँग २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। अस्पताल निर्माणको लागत २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ रहेको छ।
पटक–पटक म्याद थपिए पनि अस्पताल निर्माण सम्पन्न नभएपछि जिल्लावासी निराश भएका छन्। निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाहमा समेत समस्या भएको बताइएको छ।
पछिल्लो पटक अस्पताल निर्माणका लागि भदौ ३१ गतेसम्म म्याद थप गरिएको छ। हालसम्म अस्पतालको करिब ९२ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

