सरकारी कार्यालयमा फाइल अड्काउने प्रवृत्ति घट्यो
काठमाडौँ, साउन २५ । सरकारी कार्यालयमा सेवाग्राहीका फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आएको छ।
सरकारले शासकीय सुधारका लागि अघि सारेको एक सय कार्यसूची, शून्य बाँकी फाइल अभियान, डिजिटल प्रणालीको प्रयोग तथा कर्मचारीको जिम्मेवारी स्पष्ट पार्ने कामले सेवा प्रवाहमा सुधार आएको जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार अधिकांश सरकारी निकायमा बिनाकारण फाइल रोक्ने प्रवृत्ति घटेको छ।
राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनले पनि कर्मचारी समयमै कार्यालय पुग्ने र जिम्मेवारी पूरा गर्ने क्रम बढेको देखाएको छ।
सरकारले अनावश्यक प्रक्रिया र तह हटाएर सरकारी सेवा थप छिटो, सरल र नागरिकमैत्री बनाउने योजना अघि सारेको छ।

