साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ,साउन २५ । साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।
साउन महिना भगवान् शिवसँग जोडिएको धार्मिक महिना भएकाले यस महिनाका सोमबारलाई विशेष महत्व दिने गरिन्छ। भक्तजनले पवित्र नदी तथा जलाशयबाट जल ल्याएर शिवलिङ्गमा चढाउने, व्रत बस्ने र पूजापाठ गर्ने परम्परा छ। साउनको अन्तिम सोमबार बोलबम तीर्थालुको समेत विशेष चहलपहल हुने गर्छ।
काठमाडौँको सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा चढाउन आउने बोलबम श्रद्धालुको पनि उल्लेख्य उपस्थिति छ। भक्तजनले जल अर्पण गर्दै भगवान् शिवको पूजा तथा आराधना गरिरहेका छन्।
संस्कृतिविद् गोविन्द टण्डनका अनुसार साउन महिना धार्मिक, प्राकृतिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। विशेषगरी साउनका सोमबार भगवान् शिवको व्रत र पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो।
धार्मिक मान्यताअनुसार पार्वतीले साउन महिनामा कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकाले हिन्दु महिलाले साउन र साउने सोमबारलाई विशेष महत्व दिने गरेका छन्। साउनका सोमबार व्रत बसेर शिवको पूजा गर्दा आफू, श्रीमान्, सन्तान र परिवारको कल्याण हुने विश्वास छ।
हिन्दु धार्मिक परम्परामा साउने सोमबार, १६ सोमबार र सोम प्रदोष गरी तीन प्रकारका व्रतको विशेष चर्चा पाइन्छ। अन्य दिनको तुलनामा साउनका सोमबार व्रत, दान तथा पूजापाठ गर्दा बढी पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, टोखाको बौडेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, नुवाकोटको दुप्चेश्वर, जनकपुरको कपिलेश्वर र जलेश्वरको शिरेश्वरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा समेत पूजा तथा बोलबम मेला भर्नेको घुइँचो छ।

