प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौं,साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेट गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
त्यस अवसरमा द्विपक्षीय विकास आयोजना, आर्थिक सहकार्य तथा व्यापार प्रवर्द्धनका विषयमा समेत संक्षिप्त छलफल भएको सचिवालयले जनाएको छ।

