रियादको सोफा कारखानामा भीषण आगलागी, १६ बङ्गलादेशीको मृत्यु



काठमाडौं,साउन २५ । साउदी अरेबियाको राजधानी रियादस्थित सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो। घटनामा मृत्यु हुने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो।

घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ। कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेकोसमेत मन्त्रालयले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए। दूतावासले साउदी अधिकारीसँग समन्वय गरी मृतकको पहिचान पुष्टि, शव हस्तान्तरण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

घटनाबारे थप विवरण सङ्कलन तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन दूतावासले टोली परिचालन गरेको छ।मृतकको पहिचान, कानुनी प्रक्रिया पूरा गर्ने र पीडित परिवारलाई आवश्यक सहजीकरण गर्ने कामलाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन्। रियादको घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा र आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्