सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीसँग जवाफ माग्दै प्रतिपक्ष
काठमाडौं,साउन २५ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति पुनः आपत्ति जनाउँदै संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिन र आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन्।
प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न तथा आलोचनालाई शत्रुताका रूपमा नभई सुधारका रूपमा लिन आग्रह गरेका छन्। मुलुकको हितमा हुने काममा प्रतिपक्षी दलहरू सरकारसँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना आवश्यक रहेको उनीहरूको भनाइ छ।
सांसदहरूले सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन्। घटना जुनसुकै कारणले भएको भए पनि मृत्यु हुनेहरू नेपाली नागरिक भएकाले सरकारले नागरिकको जीउधनको रक्षा गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने उनीहरूले बताएका छन्।
त्यस्तै, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र ग्यास अभावका कारण सर्वसाधारणलाई चुलो बाल्नसमेत समस्या भइरहेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए। गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले पनि मिचेको भन्ने आशयको जवाफ दिएपछि प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्तिप्रति निरन्तर विरोध जनाउँदै आएका छन्।

