मातृभाषा पत्रकारितामार्फत सीमान्तकृत समुदायका आवाज मूलधारमा ल्याउनुपर्ने
काठमाडौं,साउन २५ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६’ को उद्घाटन गर्दै मन्त्री गौतमले मातृभाषामार्फत राज्यका गतिविधिबारे जनतालाई सुसूचित गराउन र राज्य तथा जनताबीचको दूरी कम गर्न पत्रकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँले मातृभाषा घर, विद्यालय र समुदायमा बोलेर मात्र संरक्षण नहुने भन्दै पत्रकारिताका माध्यमबाट समेत मातृभाषाको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो। भाषा लेखनमा प्रयोग भएमा त्यसलाई जीवन्त राख्न सकिने उहाँको भनाइ थियो।
मातृभाषा संरक्षण तथा मातृभाषामा पत्रकारिताको विकासका लागि राज्यका तर्फबाट आवश्यक सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्री गौतमले यस क्षेत्रमा राज्यले गर्नुपर्ने कामबारे सुझाव दिन सरोकारवालालाई आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका सचेतक निश्कल राईले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील र गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले सबै प्रकारका अधिकार स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
नेकपा एमालेका सांसद क्षितिज थेबेले नेपाल लामो समयसम्म अल्पविकसित मुलुकको परिचयमा रहनुमा राज्यले आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका सवाललाई उचित सम्बोधन गर्न नसक्नु पनि प्रमुख कारण रहेको जिकिर गर्नुभयो।
त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले नेपालको सांस्कृतिक विविधतालाई पत्रकारिताले उच्च महत्व दिँदै आएको बताउँदै पत्रकारिता मुलुकका हरेक परिवर्तनको साक्षी रहेको उल्लेख गर्नुभयो।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ सुरु भएको तीनदिने सम्मेलन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा भइरहेको छ।
सम्मेलनमा मातृभाषा पत्रकारिता, आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वनसँगको सम्बन्ध, सरकारी तथा निजी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था, जलवायु परिवर्तन र राज्यका नीति लगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ।
सम्मेलनमा नेपालका करिब तीन सय तथा भारत, बङ्गलादेशलगायत विभिन्न देशका ३५ पत्रकार सहभागी भएका छन्। भर्चुअल माध्यमसमेत गरी २७ मुलुकका पत्रकारको सहभागिता रहेको आयोजकले जनाएको छ।

