एक सय दिनमा शासकीय सुधारका ठोस परिणाम आएको सरकारको दाबी
काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार गठन भएको एक सय दिनमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, मितव्ययिता र नागरिक सेवा प्रवाहमा सुधारका काम अघि बढाइएको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा सरकारका एक सय दिनका उपलब्धि प्रस्तुत गर्दै उहाँले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी नियमित अनुगमन गरिरहेको जानकारी दिनुभयो।
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या १८ मा सीमित गरी १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेको र यसबाट वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको उहाँले बताउनुभयो। यस्तै, ३१ अनुत्पादक निकाय खारेज, छ निकाय एकीकरण, छ हस्तान्तरण र १८ निकाय पुनर्संरचनाको प्रक्रिया अघि बढाइएको छ।
सम्पत्ति छानबिन आयोग गठन गरी ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको, ६७२ सरकारी सवारी साधन फिर्ता ल्याइएको र एक हजार पाँच सयभन्दा बढी राजनीतिक नियुक्तिका पदाधिकारीलाई पदमुक्त गरिएको उहाँले जानकारी दिनुभयो।
किसानतर्फ उखु किसानको १३ अर्ब ७६ करोड रुपैयाँ बक्यौता भुक्तानीमा सहजीकरण तथा दुग्ध किसानलाई ३५ करोड रुपैयाँ भुक्तानी गरिएको उहाँले बताउनुभयो।
नागरिक सेवा प्रवाहतर्फ ७५ जिल्लामा हुलाकमार्फत नागरिकता र राहदानीलगायत सेवा घरदैलोमा पुर्याउने व्यवस्था गरिएको, चार लाख ४७ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइएको तथा विभिन्न सरकारी सेवा अनलाइनबाट उपलब्ध गराइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता, राजनीतिक हस्तक्षेपमुक्त प्रशासन, योग्यतामा आधारित नियुक्ति र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

