म्यानमारद्वारा आङ सान सुकीको रिहाइको आसियान माग अस्वीकार
काठमाडौँ, साउन २५ । म्यानमारको सेना समर्थित सरकारले पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आग्रह अस्वीकार गरेको छ।
म्यानमारको विदेश मन्त्रालयले सुकीको रिहाइ कानुनअनुसार मात्र सम्भव हुने जनाएको छ। सरकारले मानवीय आधारमा उनको सजाय घटाइएको दाबी गरेको छ।
आसियानको वर्तमान अध्यक्ष फिलिपिन्सले सुकीसँग अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिको भेटलाई सकारात्मक कदम भन्दै राजनीतिक बन्दीलाई थप मानवीय पहुँच दिन र सुकीलाई पूर्ण तथा बिना सर्त रिहा गर्न आग्रह गरेको थियो।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि नजरबन्दमा रहेकी ८१ वर्षीया सुकीमाथिका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको उनका समर्थक तथा मानवअधिकार समूहले बताउँदै आएका छन्।म्यानमार सरकारले भने पछिल्लो निर्वाचनबाट नयाँ सरकार गठन भएको दाबी गर्दै आएको छ।

