नुवाकोटका शिक्षक दलबीर शार्कीको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा
नुवाकोट, साउन २५ । जिल्लाको लिखु गाउँपालिका–३ स्थित श्री निरञ्जना आधारभूत विद्यालयका शिक्षक स्वर्गीय दलबीर शार्कीको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको छ।
लिखु गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सोमबार भएको सभामा गाउँपालिकाको तर्फबाट स्वर्गीय शार्कीको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गरिएको छ।
२७ वर्षीय शार्की क्षयरोगजन्य मेनिन्जाइटिसबाट पीडित थिए। भारतको लखनउमा उपचार गराएपछि थप उपचारका लागि साउन १३ गते काठमाडौंस्थित न्युरो अस्पताल ल्याइएकोमा अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कालिकोटको पचालझरना गाउँपालिका–८, मयकोटका स्थायी बासिन्दा शार्की २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भई नुवाकोटमा स्थायी शिक्षकका रूपमा नियुक्त भएका थिए। निरञ्जना आधारभूत विद्यालयमा कार्यरत रहँदा उनले इमान्दारी, समर्पण र जिम्मेवारीका साथ अध्यापन गर्दै विद्यार्थी, अभिभावक तथा सहकर्मीमाझ असल र समर्पित शिक्षकको छवि बनाएका थिए।
शार्कीको असामयिक निधनले विद्यालय परिवार, स्थानीय समुदाय तथा शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए । विद्यालयका प्रधानाध्यापक सीताराम थपलियाले विद्यालयले एक कर्मशील र समर्पित शिक्षक गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।

