नेपालमा नौ मृतदाताबाट २३ वटा अङ्ग प्रत्यारोपण



काठमाडौँ,साउन २८ । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदान अत्यन्त न्यून रहेको पाइएको छ। कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृतदाताबाट मात्र २३ वटा अङ्ग प्रत्यारोपण भएको छ। तीमध्ये १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको छ।

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण सन् २०१७ मा सुरु भएको हो। विज्ञहरूका अनुसार एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार मृत्युपछि हुने अङ्गदान प्रभावकारी बनाउन सम्भावित दाता पहिचान गर्ने अस्पतालस्तरीय संयन्त्र, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वय, अङ्ग सुरक्षित राख्ने प्रविधि र पारदर्शी वितरण प्रणाली आवश्यक छ।

नेपालमा अङ्गदान तथा प्रत्यारोपणलाई व्यवस्थित गर्ने कानुनी व्यवस्था भए पनि यसको कार्यान्वयन र जनचेतना विस्तारमा अझै चुनौती रहेको विज्ञहरूले बताएका छन्। यसैबीच आज अगस्ट १३ मा विश्व अङ्गदान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्