प्रधानमन्त्री शाह नयाँदिल्लीमा, भारतीय राज्यमन्त्रीद्वारा स्वागत



नयाँदिल्ली, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुग्नुभएको छ ।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आज दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो । उहाँलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नुभयो ।

स्वागतका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारलगायत अधिकारीको उपस्थिति थियो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । आज साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानवस्रोत विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने जनाइएको छ ।

भ्रमणका क्रममा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण सम्पन्न गरी उहाँ मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्