प्रधानमन्त्री वालेन्द्र शाह भारतको नयाँदिल्लीमा, विमानस्थलमा भव्य स्वागत
काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुग्नुभएको छ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो। उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो।
स्वागतका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारलगायत अधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ। त्यस्तै, मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। साथै, दुई देशबीच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नुहुनेछ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

