बजेट अभावमा थलियो धनगढीको आयुर्वेद चिकित्सालय
धनगढी, साउन २८ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पर्याप्त बजेट र जनशक्ति अभावका कारण निर्माण भइसकेका पूर्वाधारसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
चिकित्सालयको भुइँतलाको शौचालय एक वर्षसम्म बन्द हुँदा हिँड्डुल गर्न कठिनाइ भएका बिरामीसमेत भर्याङ उक्लिएर माथिल्लो तलाको शौचालय प्रयोग गर्न बाध्य भए । आन्तरिक स्रोतबाट रु २० लाख खर्चिएर शौचालय मर्मत गरिए पनि भवन निर्माणकै क्रममा जडान गरिएको लिफ्ट भने करिब पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।
५० शय्या क्षमताको चिकित्सालयमा पर्याप्त जनशक्ति र बजेट नहुँदा हाल करिब ३० शय्यामा मात्र सेवा सञ्चालन भइरहेको छ । नयाँ सङ्गठन तथा व्यवस्थापन संरचना स्वीकृत नहुँदा आवश्यक जनशक्ति थप हुन सकेको छैन भने एमडी तहका विशेषज्ञ चिकित्सक एक जना मात्रै छन् ।
चिकित्सालयको पुँजीगत बजेट रु पाँच लाखमा सीमित हुँदा सामान्य मर्मतसम्भारसमेत प्रभावित भएको व्यवस्थापन समितिले जनाएको छ । लिफ्ट सञ्चालनका लागि ठेकेदारसँगको भुक्तानीसम्बन्धी समस्या समाधान नभए कानुनी प्रक्रियामा जाने तयारी गरिएको छ ।
यसबीच चिकित्सालयमा सेवाग्राहीको आकर्षण भने बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार ६८१ जनाले सेवा लिएकामा २०८२/८३ मा यो सङ्ख्या बढेर ४८ हजार १६५ पुगेको छ । नयाँ सेवाग्राहीको सङ्ख्या पनि २८ हजार १८३ बाट बढेर ३९ हजार ८५६ पुगेको छ ।
चिकित्सालयमा पञ्चकर्म, प्रयोगशाला, शल्य चिकित्सा, फिजियोथेरापीलगायत सेवा विस्तार भइरहेका छन् । गत वर्ष ११ प्रकारका आयुर्वेद औषधिसमेत उत्पादन गरिएको थियो ।
चिकित्सालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नयाँ सङ्गठन संरचना स्वीकृत गरी आवश्यक जनशक्ति व्यवस्थापन, नियमित मर्मतका लागि पर्याप्त बजेट तथा निर्माण भइसकेका पूर्वाधारको तत्काल उपयोग सुनिश्चित गर्नुपर्नेमा व्यवस्थापनले जोड दिएको छ ।

