राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर देश विकासमा एकजुट हुन अर्थमन्त्री वाग्लेको आग्रह



तनहुँ, साउन २९ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ।

जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले देशलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै आपसी सहकार्य र समन्वयमा जोड दिनुभयो।

अर्थमन्त्री वाग्लेले सुशासन र सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै पहिलो वर्षलाई सुधारको वर्ष र दोस्रो वर्षलाई सुशासनको वर्षका रूपमा लिइएको उल्लेख गर्नुभयो। तेस्रो र चौथो वर्षमा त्यसको नतिजा देखिने गरी योजनाबद्ध रूपमा काम भइरहेको उहाँको भनाइ छ।

उहाँले सुशासनबिना मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो। सरकारले सुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा स्पष्ट विकासको योजना लिएर आएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सुशासनको जगमा टेकेर सबै मन्त्रालयमा दैनिक सुधारका काम भइरहेको र कमजोरी देखिए तत्काल सुधार गर्दै अघि बढिरहेको जानकारी दिनुभयो।

पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउँदै उहाँले ऊर्जाको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सफल उदाहरणका रूपमा देखिएको उल्लेख गर्नुभयो। स्वास्थ्य बिमालाई धान्न सकिने ढाँचामा अघि बढाउन सरकारले काम गरिरहेको र निम्न वर्गलाई लक्षित गरी विगतका सरकारले सुरु गरेका सकारात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो।

कार्यक्रममा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले विकास निर्माणलाई गति दिन पूर्वाधार अदालतको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। गण्डकी प्रदेशसभा सदस्यहरू हरिबहादुर चुमान, जितप्रकाश आले र अशोककुमार श्रेष्ठ तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा सहकार्य तथा समन्वय आवश्यक रहेको बताउनुभयो।

आज शुक्रबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा तनहुँका स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका काम तथा देखिएका समस्याबारे छलफल गरिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो।

यसैबीच, अर्थमन्त्री वाग्लेले बन्दीपुरमा सञ्चालन भइरहेको जीप सफारीले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताउनुभएको छ। बन्दीपुरस्थित टुँडिखेलदेखि बन्दीपुर गाउँपालिकाको कार्यालयसम्म जीपमा यात्रा गर्दै उहाँले ग्रामीण क्षेत्रमा जीप सफारीमार्फत पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो।

नेपालका विभिन्न पहाडी क्षेत्रमा जीप सफारी सञ्चालन गरी पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ। जीप सफारीका लागि खरिद गरिने सवारीसाधनमा भन्सार शुल्क घटाउन पहल गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले जनाउनुभयो।

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जीप सफारीका लागि खरिद गरिने सवारीसाधनमा भन्सार शुल्क छुट दिन आग्रह गर्नुभएको थियो। हाल बन्दीपुर हुँदै मिनी ग्रेटवाल, तीनधारा, सहिद स्मारक, धरमपानी र रुम्सी घरबासलगायत क्षेत्रमा जीप सफारीमार्फत पर्यटकले भ्रमण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्