होटल र पार्टी प्यालेसलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको चेतावनी



काठमाडौं,साउन २९ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।

निगमका अनुसार २०८३ साल असार ३१ गतेदेखि बजारमा १४ दशमलव २ किलोग्रामको भरिएको ग्यास सिलिन्डर बिक्रीवितरण भइरहेको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ।

निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको थियो।

निगमले अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न तथा मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न आग्रह गरेको छ।

आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्