कक्षा पाँचसम्म आन्तरिक परीक्षा बन्द, वैकल्पिक मूल्याङ्कन सुरु
काठमाडौँ, साउन २९ । सरकारले कक्षा पाँचसम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गरेपछि विद्यालयहरूले वैकल्पिक मूल्याङ्कन प्रणाली अपनाउन थालेका छन्।
विद्यार्थीलाई परीक्षा र त्यसबाट हुने मनोवैज्ञानिक दबाबबाट मुक्त गराउन कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, व्यवहार अवलोकन, स्व तथा सहपाठी मूल्याङ्कन र अभिभावकको प्रतिक्रियालगायतका विधिबाट मूल्याङ्कन गर्न थालिएको हो।
शिक्षकहरूले नयाँ प्रणालीले विद्यार्थीको सिकाइ बुझ्न सहज भए पनि प्रत्येक विद्यार्थीको छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने भएकाले धेरै विद्यार्थी भएका विद्यालयमा कार्यबोझ बढेको बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले भने कार्यान्वयनका क्रममा देखिएका समस्या अध्ययन गरी निरन्तर मूल्याङ्कन प्रणालीलाई थप वैज्ञानिक, व्यावहारिक र व्यवस्थित बनाउँदै लैजाने जनाएको छ।

