एसीसी प्रिमियर कप तयारीका लागि नेपाली टोली भारत प्रस्थान
काठमाडौं,साउन २९ । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार काठमाडौँमा विदाइ गरिएको छ। नेपाल क्रिकेट संघले कार्यक्रम आयोजना गरी टोलीलाई विदाइ गरेको हो।
क्यानका अनुसार नेपाली टोलीले भारतमा तयारी गरेपछि उतैबाट मलेसिया पुगेर एसीसी प्रिमियर कप खेल्नेछ। प्रतियोगिता आगामी अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ।
विदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले विगतका गल्ती र कमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। अनुभवी खेलाडी र युवा खेलाडीको उत्कृष्ट मिश्रण रहेकाले टोलीको आगामी यात्रा रोमाञ्चक हुने उहाँले बताउनुभयो।
विगतलाई पछाडि छोड्दै प्राप्त आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरेर त्यसको जवाफ मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत दिने उहाँको भनाइ थियो।
मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकप लिग–२ का क्रममा पहिचान भएका कमजोरी सुधार गर्न तथा खेलाडीमा नयाँ योजना विकास गर्न भारतमा गहन अभ्यास गरिने बताउनुभयो। मलेसियाको पिच कम गतिका साथै स्पिन बलरलाई सहयोग पुग्ने खालको भएकाले नेपाली टोलीको स्पिन बलिङले थप फाइदा लिन सक्ने उहाँले उल्लेख गर्नुभयो।

