जेम्सलाई जेसीएल सिजन–२ को उपाधि
काठमाडौं,साउन ३० — जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन–२ को उपाधि जितेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्दै उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ७० रन बनाएको थियो। ७१ रनको लक्ष्य पछ्याएको डिएभी ‘नीलो’ ९.२ ओभरमा ६२ रनमै समेटिएपछि जेम्स विजेता बनेको हो।
प्रतियोगिताको विजेता जेम्सले ३० हजार रुपैयाँ तथा उपविजेता डिएभी ‘नीलो’ ले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। डिएभी ‘नीलो’ का कमल साइ सर्वोत्कृष्ट खेलाडी घोषित भए।
हिमालयन ह्वाइटहाउसका रिदम अधिकारी उत्कृष्ट बलर, डिएभी ‘नीलो’ का कमल साइ उत्कृष्ट ब्याट्सम्यान तथा आयोजक एन्जल्स हार्टका अभिषेक कठायत उदीयमान खेलाडी चुनिए। मानसिंह धर्म माध्यमिक विद्यालयले अनुशासित टिमको ट्रफी प्राप्त गर्यो।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा तथा एन्जल्स स्पोर्ट्स एकेडेमीको व्यवस्थापन र काठमाडौं गोर्खाजको सहयोगमा सम्पन्न प्रतियोगितामा २४ टोलीको सहभागिता थियो।
विजेता तथा उत्कृष्ट खेलाडीलाई काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहिया, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्ट माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन, आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रधानाध्यापक टकबहादुर थापा र एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतले पुरस्कार प्रदान गरे।

