काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री सुरु, बिहानैदेखि उपभोक्ताको लामो लाइन



काठमाडौं,साउन ३०— खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।

उपभोक्तालाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत ग्यास बिक्री सुरु गरिएको हो। ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर बोकेर बिक्री केन्द्रमा लाइनमा बसेका थिए।

निगमका अनुसार ग्यास खरिद गर्न जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। काठमाडौंका विभिन्न स्थानमा छुट्टाछुट्टै ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

टेकु परिसर, चावहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुरस्थित राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास लिन सकिने व्यवस्था गरिएको छ। निगमले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएको समयभित्र सम्बन्धित बिक्री केन्द्रमा परिचयपत्रसहित उपस्थित भएर ग्यास खरिद गर्न अनुरोध गरेको छ।

डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति भइरहे पनि बजारमा ग्यास नपाएको उपभोक्ताको गुनासो बढेपछि तत्काल राहतका लागि अतिरिक्त बिक्री व्यवस्था गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्