पोखरामा ६ करोड लगानीमा बस सञ्चालनमा आउँदै, शौचालय र चिया तथा कफी सुविधासहित
पोखरा,साउन ३० । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रालिले करिब ६ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने बस पोखराबाट काठमाडौं तथा मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्यमा सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले यी बसलाई नेपालकै सुविधासम्पन्न बसमध्ये रहेको दाबी गरेको छ।
पोखरा पर्याङमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरे। कम्पनीका अध्यक्ष टीकाराम अधिकारीका अनुसार बसभित्र यात्रुको सहजताका लागि शौचालय, चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ।
कम्पनीले आगामी भदौ ३ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने जनाएको छ। यात्रुबाट सेवा सञ्चालनबारे निरन्तर सोधपुछ भइरहेकाले निर्धारित मितिदेखि गुणस्तरीय र सुविधायुक्त सेवा दिने प्रतिबद्धता अध्यक्ष अधिकारीले व्यक्त गरे।
महासंघका अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौंका लागि सुरु हुन लागेको यो सेवा नेपाल मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय सवारी सेवामध्ये पर्ने दाबी गरे। उनका अनुसार प्रतिसवारी करिब २ करोड रुपैयाँ लगानी गरिएको छ।
सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन जिपिएस प्रणाली, नगदरहित भुक्तानी र अनलाइन टिकट प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए। यात्रुले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
नयाँ बसका चालकलाई ‘पाइलट’ र सहचालकलाई ‘एयर होस्टेस’ को पोसाकमा प्रस्तुत गरिएको छ। सिटौलाले यसलाई यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भन्दै पोसाकसँगै यात्रुसँगको व्यवहारमा समेत उच्च व्यावसायिकता र विनम्रता कायम गर्न आग्रह गरे।
उनले सडक दुर्घटना वा विवादका क्रममा चालक तथा सहचालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न राज्यले उनीहरूको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने मागसमेत गरे।

