शनिबार र आइतबार १६ हजार ३ सय सिलिन्डर ग्यास बाँडियो



काठमाडौं,भदौ १ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अति आवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।

विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धरामा ग्यास बिक्री वितरण गरेको हो ।

अति आवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँ बजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । सातवटा बिक्री केन्द्रबाट हिजो आइतबार नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । 

शनिबार छ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ । निगमले भोलि भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्री वितरणको व्यवस्था मिलाइएको जनाउँदै आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४।२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्