ज्योतिकुञ्ज एकेडेमीको सहकार्यमा ‘म कहिल्यै अल्छी हुन्न है !’ बालगीतको भिडियो विमोचन
नुवाकोट,भदौ १ । बालबालिकाका लागि निर्माण गरिएको गीत ‘म कहिल्यै अल्छी हुन्न है !’ को भिडियो विमोचन गरिएको छ।
‘किताब चरो नेपाल’ र ज्योतिकुञ्ज एकेडेमीको सहकार्यमा निर्माण गरिएको उक्त बालगीतको भिडियो सोमबार लिखु -६, नुवाकोटस्थित विद्यालयकै सभाहलमा विमोचन गरिएको हो।
भिडियो विमोचन कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बालसाहित्यकार तथा गीतका रचनाकार रामबाबु सुवेदी र बालसाहित्यकार रेणु अधिकारीको समेत उपस्थिति रहेको थियो।
साहित्यकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले विद्यार्थीमा थप उत्साह र ऊर्जा थपिएको विद्यालयले जनाएको छ। कार्यक्रममा लिखु गाउँपालिका–६ का वडाध्यक्ष सुमन भण्डारी, वडा सदस्य महेश कुमार डंगोल तथा छिमेकी विद्यालयका शिक्षक प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
विद्यालयले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै बालगीतको भिडियोमा अभिनय गरेका बालकलाकारको टोलीलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिएको छ ।

