गोसाईंकुण्ड जाने तीर्थयात्रीका लागि पदमार्गका होटल तथा लजको शुल्क निर्धारण



सुवा, भदौ १। जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी रसुवाको पदमार्गमा सञ्चालित होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षको सहभागितामा गत वर्षकै आधारमा चिया, नास्ता, खाना तथा लजको शुल्क तोकिएको हो। निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा एक कप चियाको ३० रुपैयाँदेखि गोसाईंकुण्डमा ८५ रुपैयाँसम्म, दालभात–तरकारीको २७५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म तथा बसोबासको ३०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क लाग्नेछ।

बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले तोकिएकोभन्दा बढी शुल्क लिन नपाइने र सेवा शुल्क सबैले देख्ने गरी टाँस्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो। बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन उहाँले तीर्थयात्रीलाई आग्रह गर्नुभएको छ।

उहाँका अनुसार गोसाईंकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई सहजता प्रदान गर्ने उद्देश्यले सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा गरिएको छ। वर्षाको समय भएकाले मौसमको अवस्था ख्याल गरेर यात्रा गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।

यस वर्ष १० हजारभन्दा बढी तीर्थयात्री गोसाईंकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित बौद्ध धर्मगुरु लामा रेञ्जन घलेले बताउनुभयो। संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी तथा गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र व्यवसायीको सहयोग, समन्वय र सहकार्यमा तीर्थयात्रीलाई राहत हुने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्