नुवाकोटमा जिल्ला स्तरीय अन्तरविद्यालय निबन्ध प्रतियोगिता सम्पन्न
नुवाकोट,भदौ २ । विद्यार्थीहरूमा शैक्षिक जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा जिल्ला स्तरीय अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन नुवाकोटको आयोजनामा गेर्खुस्थित फुलबारीमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक भट्टराई प्रथम भएका छन्।
त्यस्तै, गणेश भ्यू बाटिकाका राजकुमार तामाङ द्वितीय, तादी भ्यू एकेडेमीकी सलिना भण्डारी तृतीय तथा नर्थ स्टारका सन्दीप पन्त सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
प्याब्सन नुवाकोटले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिनाको अन्तिम आइतबार विभिन्न विधामा प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ।
यसैक्रममा आगामी भदौ २८ गते आइतबार जिल्ला स्तरीय अन्तरविद्यालय लोकनृत्य तथा एकल गायन प्रतियोगिता आयोजना गरिने प्याब्सन नुवाकोटले जनाएको छ।

