ठमेल २४सै घण्टा सुरक्षित र मर्यादित ढङ्गले सञ्चालन गरिने
काठमाडौं,भदौ ४ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोली र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलबीच भएको भेटमा ठमेललाई पारिवारिक, सुरक्षित तथा मर्यादित पर्यटकीय क्षेत्रका रूपमा २४सै घण्टा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय र परिषद्बीच प्रभावकारी समन्वय गर्ने सहमति भएको छ।
भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा सडक व्यवसायीको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलमा दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माणका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताउनुभयो।
यसअघि तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।
परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।

