अनुदान कोटामा शिक्षक तथा कर्मचारीको तलब बढ्यो



काठमाडौँ, भदौ ४ । सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले माध्यमिक तहका शिक्षकको पारिश्रमिक ४३ हजार ६६९ बाट बढाएर ४८ हजार ५८ तथा आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट ३८ हजार २०३ रुपियाँ कायम गरिएको जानकारी दिनुभयो।

त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपियाँ पुगेको छ। पारिश्रमिक वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख रुपियाँभन्दा बढी थप आर्थिक दायित्व पर्नेछ।

मन्त्रिपरिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात व्यवस्थापन प्रणाली सुधारका लागि जापानबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपियाँ अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यस्तै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने, साउदी अरेबियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने तथा नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न स्वीकृति दिने निर्णय भएको छ।

बैठकले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्