नुवाकोटबाट रसुवा जाँदै गरेका आमाछोराको खोलाले बगाउँदा मृत्यु



नुवाकोट,भदौ ४ । नुवाकोटबाट रसुवातर्फ जाँदै गरेका आमाछोराको खोलाले बगाउँदा मृत्यु भएको छ।

रसुवाको नौकुण्ड गाउँपालिका–२ घ्याङमारका ३५ वर्षीया डुक्पानेकोर तामाङ र उनका ११ वर्षीय छोरा पूर्णबहादुर थोक्राको घ्याङमार झोम्सो खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

नुवाकोटको लच्याङबाट कुखुराको दाना लिएर घर फर्किने क्रममा बीचमा रहेको खोलाले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ। खोलाले बगाएको एक दिनपछि आमाछोराको शव फेला परेको हो।

प्रहरी चौकी यार्साबाट खटिएको टोलीले नौकुण्ड गाउँपालिका–२ स्थित जोङ्सा खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा दुवैको शव फेला पारेको थियो। शव अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्