ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी



नेपालगन्ज,भदौ ४ । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।

“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भन्नुभयो । उहाँका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

“अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन । त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौँ । अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,” उहाँले भन्नुभयो ।

भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन् । केही स्थानीय जातका बिरुवा पनि लगाइएको छ । उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउन उहाँले फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अपनाउनुभएको छ ।

“प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,” उहाँले भन्नुभयो । अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने डेढ वर्ष मात्र भएको विष्टले सुनाउनुभयो । धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज रहेको उहाँको अनुभव छ । “बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ । अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,” उहाँले भन्नुभयो ।

अम्बा पाकेपछि प्रायः आफैँले टिप्ने गरेको उहाँ बताउनुहुन्छ । ठेक्कामा बगैँचा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेका छन् । अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको अनुभव छ । बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफैँ आउने गरेका छन् । कतिपय ग्राहकले घरबाटै खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरी नेपालगञ्ज बजारमा लैजाने गरेका छन् ।

हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज हो । परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी उहाँ आगामी दिनमा अम्बा खेती विस्तार गर्दै आम्दानी बढाउने योजनामा हुनुहुन्छ । “अहिलेको आम्दानीले हौसला बढाएको छ । मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,” विष्टले भन्नुभयो । उहाँको यो व्यावसायिक खेतीको स्थानीयस्तरमा प्रशंसा मात्रै भएको छैन, अन्यले समेत अनुसरण गर्ने सोच बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्