दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए



नवलपरासी (बर्दघाट सुस्ता पूर्व), भदौ ४ । गैँडाकोट नगरपालिका–१४ भागरबाट दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।

भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।

स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजी गर्दा पनि बालक नभेटिएपछि प्रहरीमा निवेदन दिइएको थियो। बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा सकुशल फेला पारिएको प्रहरीले जनाएको छ। उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी बालकलाई आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्