परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट



काठमाडौं,भदौ ४ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच नेपाल–साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनाका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पु¥याउने बताउनुभएको थियो ।

“नेपाल र साउदी अरब बीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्वपूर्ण अवसर हो । आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्