बागमती र कोशीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं,भदौ ४ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार र शनिबार देशभर सामान्यतया बदली रहनेछ। शुक्रबार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्