विदेशी सहयोगमा नुवाकोटको कुमरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री
नुवाकोट,भदौ ५ — बेलकोटगढी नगरपालिका–३ कुमरीस्थित स्वास्थ्यचौकीलाई विदेशी सहयोगमा विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ। अमेरिकास्थित बिवाइयु विश्वविद्यालयका चिकित्सक तथा प्राध्यापकहरूको टोलीले बिहीबार स्वास्थ्यचौकीलाई १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
कुमरीमा आयोजित कार्यक्रममा टोलीले सामग्री बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङलाई हस्तान्तरण गरेको थियो। प्राप्त सामग्रीले गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्य सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष कौशिला पुडासैनीका अनुसार स्वास्थ्यचौकीलाई सेनिटाइजर, पञ्जा, मास्क, दाँत सफा गर्ने सामग्री, डस्टबिन, स्वचालित औजार, रबर सिटलगायत १० प्रकारका सामग्री प्रदान गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, वडा तथा स्वास्थ्यचौकीका कर्मचारी र स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।

