स्थानीय तहदेखि बागमतीको मुख्यमन्त्रीसम्म : किरण थापा मगरको राजनीतिक यात्रा
मकवानपुर,भदौ ५ । बागमती प्रदेश सरकारको सातौँ मुख्यमन्त्रीका रूपमा बिहीबार नियुक्त हुनुभएका किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहदेखि प्रदेश सरकारको नेतृत्वसम्म आइपुगेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा २०३३ साल भदौ १४ गते पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा जन्मिनुभएका थापा मगरले प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। उहाँ २०४७ सालदेखि निरन्तर राजनीति तथा सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएका उहाँले २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएर स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्नुभएको थियो। वडाध्यक्ष रहँदा उहाँ नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बन्नुभएको थियो।
२०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँको राजनीतिक जिम्मेवारी थप विस्तार भयो। प्रदेशसभा सदस्यसँगै उहाँले बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभयो। २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उहाँले दुईपटक स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुभएको थियो।
राजनीतिसँगै थापा मगर लामो समयदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएका उहाँले नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल तथा भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल काम गर्नुभएको छ।
खेलकुद तथा आर्थिक क्षेत्रमा पनि उहाँको संलग्नता छ। नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबका संरक्षकका रूपमा उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको छ।बसिपाडोल क्षेत्र परोपकार समाज र आफ्नो घर आश्रमसँग पनि उहाँ जोडिनुभएको छ।
निजी व्यवसायमा समेत संलग्न थापा मगरका अनुसार उहाँका व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन्। युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण तथा लगानी प्रवर्द्धनमा पनि आफू सक्रिय रहेको उहाँको भनाइ छ।वडाध्यक्षका रूपमा काम गर्दा प्राप्त हुने सुविधासमेत नलिएको बताउने थापा मगरले त्यसबाट बचत भएको करिब १५ लाख रुपैयाँबाट अक्षयकोष स्थापना गर्नुभएको थियो। उक्त कोषमा हाल ४० लाख रुपैयाँ पुगेको उहाँले बताउनुभएको छ।
२०७२ सालको विनाशकारी भूकम्प, २०७५ सालको हनुमन्ते बाढी तथा कोरोना महामारीका बेला पनि उहाँ उद्धार, राहत र सामाजिक सेवामा सक्रिय रहनुभएको थियो। कोरोना महामारीका क्रममा सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पिसीआर परीक्षणको व्यवस्था र समन्वय गर्नुका साथै घरघरमा अक्सिजन तथा औषधि पुर्याउने काममा समेत उहाँ संलग्न हुनुभएको थियो।वडाध्यक्षबाट सुरु भएको थापा मगरको राजनीतिक यात्रा प्रदेशसभा सदस्य, मन्त्री हुँदै बागमती प्रदेशको मुख्यमन्त्रीसम्म आइपुगेको छ। पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्दै मुख्यमन्त्री बन्नुभएका उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन रहेको बताइएको छ।
अब मुख्यमन्त्रीका रूपमा उहाँसामु सरकारलाई प्रभावकारी रूपमा अघि बढाउने, प्रदेशका राजनीतिक शक्तिलाई समेट्ने तथा सङ्घीयताको मर्मअनुसार प्रदेशवासीको अपेक्षाअनुसार काम गर्ने चुनौती रहेको छ।

