पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’ आयोजना हुने
पोखरा,भदौ ५ — खेलकुदमार्फत प्रोटिन तथा सन्तुलित पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यले ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ।
नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा आगामी असोज ३ गते कास्कीको पोखरामा दौड प्रतियोगिता हुने भएको हो। आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुने र कुल १६ लाख रुपैयाँबराबरको पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिनुभयो। विभिन्न विधामा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।
यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौंमा आयोजना गरिएकोमा यसपटक पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु हुने दौड हल्लनचोक, खहरे, सेदी, खपौदी र पामे हुँदै पुनः वसुन्धरा पार्कमै आएर टुङ्गिनेछ।
प्रतियोगितामा पुरुष तथा महिला हाफ म्याराथन २१ किलोमिटर, पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा पुरुष र महिला ह्वीलचेयर दौड समावेश छन्।प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। हाफ म्याराथनमा महिला तथा पुरुषतर्फ पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः एक लाख ५० हजार, एक लाख, ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
युएस सोयाबिन एक्सपोर्ट काउन्सिलका देशीय निर्देशक डा अशेष भट्टराईले ‘राइट टु प्रोटिन रन’लाई प्रोटिन र सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको बताउनुभयो।
उहाँका अनुसार विशेषगरी युवा, विद्यार्थी, खेलाडी, महिला तथा परिवारमा दैनिक आवश्यक पर्ने प्रोटिनको मात्रा र सुलभ प्रोटिनका स्रोतबारे जानकारी बढाउन कार्यक्रम प्रभावकारी हुँदै आएको छ।यस संस्करणमार्फत अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्नुका साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ।
नेपालमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जनचेतना नरहेकाले यस्ता कार्यक्रमले पोषणसम्बन्धी जानकारी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने डा भट्टराईले बताउनुभयो।

