म्याग्दीबाट एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री



म्याग्दी,भदौ ५ । म्याग्दीबाट आर्थिक वर्ष २०८२/८३ मा करिब ७३ करोड ८६ लाख रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख रुपैयाँको सुन्तला बिक्री भएको हो।

सो अवधिमा ३३ हजार १२० मेट्रिक टन आलु र चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ। असिनाका कारण आलु उत्पादनमा करिब २० करोड रुपैयाँबराबरको कमी आएको थियो।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौं र चितवनका बजारमा बिक्री हुँदै आएको छ। कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले आलु तथा सुन्तलाखेती विस्तार र प्रवर्द्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

किसानले भने बजार व्यवस्थापन, बाँदरको समस्या, सिँचाइको अभाव र गुणस्तरीय बीउबिजनको कमीलाई मुख्य समस्या बताएका छन्। आगामी वर्ष फलफूल बगैँचा सुदृढीकरण तथा विस्तारका लागि ४२ लाख र खायन आलु प्रवर्द्धनका लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्